Thursday, January 7, 2016

काठमाडौंमा चोरेको ९३ तोला सुनसहित पोखरामा एक पक्राउ


पुस २३, २०७२- काठमाडौंको न्यूरोडस्थित लक्ष्मी सुनचाँदी पसलबाट चोरी भएको झन्डै ९३ तोला सुन र ५७ तोला चाँदीका गहनासहित एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी रुम ३ घर भइ पोखराको राष्ट्रिय उच्च माविमा १२ कक्षामा पढ्ने चिरन्जीवि पुन छन् । उनको साथबाट एक ल्यापटप पनि बरामद भएको छ ।
सोही घटनामा संलग्न म्याग्दीका दिलिप भन्ने दिलबहादुर पुन र नुवाकोट महाकालीका उमेश तामाङलाई गोंगबुबाट बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ । पुस १२ गते राती उक्त पसलमा चोरी भएको थियो ।
कास्की प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी चिरन्जीवि पुनलाई सुनचाँदीसहित सार्वजनिक गरेको हो । घटनास्थल काठमाडौं भएकाले सुन र पुनलाई प्रहरीले बिहीबारै काठमाडांै पठाएको छ ।
‘काठमाडौंमा सुनपसलमा चोरी भएपछि हामीले अभियुक्तहरु पोखरा आउन सक्ने भन्दै निगरानी गरेका थियौ,’ कास्की प्रहरी प्रमुख एसपी हरिबहादुर पालले भने, ‘पृथ्वीचोकबाट बुधबार पक्राउ गर्‍यौं ।’ उनका अनुसार काठमाडौंमा पक्राउ परेका दिलबहादुर र उमेश म्याग्दीमा डाँकाचोरी मद्दामा ३ वर्ष कैद सजाय भुक्तान गरी ५ महिना अघिमात्रै कारागारमुक्त भएका थिए ।
चिरन्जीविको बयानका आधारमा काठमाडौंमा अन्य अभियुक्त पक्राउ परेका हुन । अभियुक्तले काठमाडौंमा चोरेको सुन बिक्री गरीसकेपछि पोखराको न्यूरोडका ३ सुनचाँदी पसलमा पनि चोर्ने तयारी गरेको अनुसन्धानमा खुलेको छ । ‘ती पसलमा कसरी चोर्न सकिन्छ भन्दै अभियुक्तहरुले ‘रेकी’ गरेको पाइयो,’ पालले भने, ‘तर समयमै पक्राउ गर्न सफल भयौं ।’
काठमाडौंमा चोरी भएको सुनका गहना । गहनासहित चोरलाई कास्की प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । तस्बिर : लालप्रसाद शर्मा/कान्तिपुर
प्रकाशित: पुस २३, २०७२

 

No comments:

Post a Comment